2023-12-19

विद्यार्थीलाई लोक संगीतको महत्व बुझाउँदै राष्ट्रिय लोक सांस्कृतिक संघ

काठमाडौं - नेपालमा पछिल्लो समय बालबालिकाहरुले नेपालका लोक लय तथा ठेट भाषा बिर्सिंदै गइरहेका छन् । यस्तो अवस्थामा राज्यले कुनै पहल नगरेपछि राष्ट्रिय लोक सांस्कृतिक संघले विभिन्न विद्यालयमा शिक्षामा लोक संगीतको स्थान र महत्वको विषयमा विद्यार्थीसँग प्रशिक्षण कार्यक्रम गर्न थालेको छ ।

 बिहीबार काठमाडौंको अनामनगरस्थित नेपाल मेगा स्कुलका विद्यार्थीसँग संघले लोक गीत संगीतका बारेमा जानकारी दिएको छ । स्कुलका भाइस प्रिन्सिपल रमेश चापागाईंको सभापतित्वमा कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लोक तथा सांस्कृतिक विषयहरु हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । 

 राष्ट्रिय लोक सांस्कृतिक संघका उपाध्यक्ष तथा संगीतकार दीपक शर्माले पछिल्लो समय बालबालिकाहरुले नेपाली संस्कार र संस्कृति नै बिर्सेको बताए । ‘अहिले हरेक बालबालिकाहरुले नेपालीभन्दा विदेश गीतहरु गुनगुनाउन थाल्नुभएको छ’, उनले भने ‘नेपाली गीतसंगीत तथा संस्कृति नै लोप हुने अवस्था आएको हुनाले स्कुल स्कुलमा शिक्षामा लोक संगीत स्थान र महत्वको विषयकको प्रशिक्षणको कार्यक्रम राख्नु परेको हो । यदि यसको संरक्षणमा कोही नजुट्ने हो भने भविष्यमा नेपालीको पहिचान नै मिटिने छ ।’ 

 कार्यक्रममा राष्ट्रिय लोक सांस्कृतिक संघका महासचिव  योगेन्द्र उपाध्याय, चलचित्र निर्देशक तथा राष्ट्रिय लोक तथा साँस्कृतिक संघका सल्लाहकार माधवराज खरेल, गायक तथा संगीतकार नरहरि प्रेमीलगायतका वक्ताले बालबालिकाहरुलाई स्कुलबाट नै आफ्नो कला संस्कृति, भेषभूषा आदिको महत्वको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए ।  कार्यक्रमलाई संगीतकार दीपक शर्मा आफैंले सहजीकरण गरेका थिए ।

https://madhyanhadaily.com/post/63667

https://parichaya.com/lok-song/